प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा एमालेले आपत्ति जनाउँदै बोलाए संसदीय दलको बैठक

काठमाडाैं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएकाे एक अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले सोमबार राजधानीमा आयोजना भएकाे एक पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत जानुभएकाे अभिव्यक्ति दिएपछि नेकपा एमालेले आपत्ति जनाएको हाे ।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे विरोध जनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो।

संसदीय दलको बैठक १ः३० बजे संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभएकाे छ ।

एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्तिको सडक र संसदमा पनि विरोध गर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘प्रधानमन्त्री यस किसिमकाे अभिव्यक्ति घातक छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौमसत्ता सम्पन्न संसद्को मानमर्दन गरेको छ। उहाँले प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयाे ।