राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

काठमाडाैं, २४ असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर आज पनि राष्ट्रियसभाको बैठक अवरूद्ध गरेका छन् ।

राष्ट्रियसभाको बैठक प्रारम्भ हुनेबित्तिकै एमालेका सांसदहरूले उठेर विरोध जनाएका हुन् । एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्मा अवरोध कायमै रहने बताउनुभयो ।

आजकाे राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार ‘रोड्स टु द भ्याली (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल)’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।

एमालेले सोही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डकाे राजीनामा माग्दै दुवै सदन अवरूद्ध गर्दै आइरहेका छन् ।