जहाँ जहाँ नेवार समुदाय, त्यहिँ गठामुंगः पर्व (तस्बिरहरू)

काठमाडौं, ३० असार । आज साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशी । नेवार समुदाय जहाँ जहाँ बसाेबास गरिन्छ त्यहाँ नै आफ्नाे संस्कार र संस्कृती संगसंगै मनाउने गर्दछन् ।

नेवार समुदायले आज घर घरमा शान्तिको कामना गर्दै हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै यो पर्व मनाएका हुन् ।

देशका विभिन्न स्थानमा बसाेबास गर्ने नेवार समुदायले आ आफ्नै शैलीमा घण्टाकर्ण / गठामुंगः पर्व मनाएका छन् ।

नेवार समुदायले घरलाई चोखो बनाएर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछन् । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दाेबाटोे वा चौवाटोमा लगेर राख्ने गरिन्छ यसलाई नेवा: भाषामा बौ वाय् ज्याअर्थात् भूत पन्छाउने कार्य भनिन्छ ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम कली (खुट्टामा लगाउने गोलाकार) वा तामाको औँठी लगाइदिने चलन पनि छ ।

साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ)मा लगेर सेलाइन्छ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ्वालीकाे मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठड्याएर राख्ने गरिन्छ । साँझ पख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर जलाउँछन । यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लिल शब्द प्रयोग गर्दै गीत गाउँदै जाने प्रचलन छ ।

घण्टाकर्ण चतुर्दशीका दिन बच्चा भूतदेखि नडराउन्, रुन्चे नलागोस् भनी टोलटोलमा रहेको छवासमा गथामुंगःलाई आगो तपाउन सकेपछि घुमाइघुमाई आगो तपाउने गरिन्छ ।(तस्बिरहरू)

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *