१३ विधामा ‘आइसिटी अवार्ड २०२३’ को नोमिनेसन सुरु

काठमाडाैं, १ साउन । आईसीटी अवार्ड आठौं संस्करणका लागि नाेमिनेसन खुला भएकाे छ ।

लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्डमा यस वर्ष थप एक विधा​सहित १३ विधाहरुमा नोमिनेसन खुला गरिएकाे हाे ।

आईसीटी अवार्डमा अनलाइनबाट फारम भरेर सहभागी हुन सकिन्छ । प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गत वर्षदेखि दक्षिण एसियाली देशहरूका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया आईसीटी अवार्ड पनि सञ्चालनमा रहेको छ ।

यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ । यीबाहेक यस वर्ष स्टार्टअप तथा इनाेभेसन अन्तगर्त स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार एण्ड इनाेभेसन आईसीटी अवार्ड २०२३ विधाहरु रहेका छन ।

व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुला गरिएको छ ।

संस्थागत विधाहरुमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ विधाहरु रहेका छन ।

यसैगरी साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड र प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसनमा पनि नोमिनेसन खुला गरिएको छ । यी सम्पूर्ण विधाहरूमा आईसीटी अवार्डकाे आधिकारिक वेबसाइटमार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

आफू स्वयं वा अन्य कोहीले सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पुर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जनाएकाे छ ।

आईसीटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौदेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनाेभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा उत्कृष्ट १० प्रतिस्प्रधीको टेलिभिजन शो पनि प्रशारण हुनेछ ।

सातै प्रदेशमा गएर आयोजकले स्थानिय स्टार्टअपहरु खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरुलाई काठमाडौंमा बुटक्याम्प र मेन्टरिङ सेसनहरु पनि सञ्चालन गर्नेछ ।

यसैगरी एकमहिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ । सातै प्रदेश र काठमाडौंमा प्रि-इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए ।