कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकामा कल्भर्ट भत्किँदा आवागमन ठप्प

कञ्चनपुर, २ साउन । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ ।

दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्किएपछि आवागमन ठप्प भएकाे हो ।

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो ।

निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ । “कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भन्नुभयो, “कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ ।”

सडक कालोपत्र गर्ने कार्य भइरहेका बेला पुरानो कल्भर्ट जीर्ण भएकाले जुनसुकै बेला पनि भत्किने अवस्थामा रहेकाले नयाँ कल्भर्ट निर्माणका लागि नगरपालिकासँग आग्रह गरिए पनि सुनवाइ हुन नसकेको उहाँले बताउनुभयो ।

“सडकको पानी फाल्नका लागि पूर्वतर्फको भागमा नाली बनाइएको थियो”, स्थानीय गगनबहादुर साहुले भन्नुभयो, “नाली भएकै ठाउँबाट कल्भर्ट भत्किएको छ, पुलमा आवागमन नभएका बेला भत्किएकाले अप्रिय घटना हुन पाएन ।” तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमाल विसं २०५४ मा कल्भर्ट निर्माणको कार्य प्रारम्भ भई विसं २०५८ मा सम्पन्न भएको बताउनुहुन्छ ।

नगरपालिकाले तत्काल पुल निर्माणका लागि काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ ।

स्थानीय बासिन्दाले कल्भर्टको आवागमन रोकिएपछि सात किलोमिटरको यात्रा गर्दै झलारी बजार र नगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । कल्भर्ट भएर लालवनिया टोलमा लगिएको खानेपानीको पाइपमा क्षति पुगेको छ । पाइपमा क्षति पुग्दा २० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् ।