उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन : हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिन राष्ट्रपति पौडेल गौरीघाटमा र कार्यवाहक प्रमुख डंगोल कमलपोखरीमा
काठमाडौँमा छठको भव्यता थपिँदो
काठमाडौँ, कात्तिक ३० । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म विधिपूर्वक मनाइएको छठ पर्व आज सम्पन्न भएको छ । छठको अन्तिम दिन आज बिहान ब्रतालुले नदी, पोखरी तथा जलाशयमा पुगेर गाईको दूध, फूल र जल अर्पण गरी सूर्यदेवको पूजा तथा आराधना गरेका हुन् ।
यसअघि हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट पुगेर सूर्यलाई अर्घ्य अर्पण गर्नुभएको थियो । त्यसैगरी काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको थियो । पछिल्लो समय काठमाडौँ उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएको छ भने यसको भव्यता पनि थपिँदै गएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय हुने उल्लेख थियो । ब्रतालुले सूर्योदयअघि नै जलाशयमा पुगेर कम्मरसम्म पानीमा डुबेर सूर्य उदाउने प्रतीक्षा गरेका थिए । उदाउँदो सूर्यको दर्शन गरी अर्घ्य अर्पण गरेपछि व्रत समापन गर्ने र छठ घाटमा प्रसाद वितरण गर्ने धार्मिक परम्परा छ ।
जल र सूर्यलाई पृथ्वीमा रहेका सम्पूर्ण जीवको सञ्चालन तथा संरक्षणको आधार मान्दै छठ पर्वमा नदीलाई माताका रूपमा र सूर्यलाई शक्तिको स्रोतका रूपमा श्रद्धा गरिन्छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजाआराधना गर्दा मनोकाङ्क्षा पूरा हुने र इच्छित फल प्राप्त हुने धार्मिक विश्वास छ । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीका दिन विशेष रूपमा सूर्यदेवको पूजा तथा आराधना गर्ने चलन छ ।
छठका अवसरमा विवाहित महिला तथा पुरुषले पति वा पत्नीको दीर्घायुको कामना गर्ने तथा अविवाहितले सुयोग्य वर वा वधु प्राप्तिको कामना गर्ने गर्छन् । यसैगरी सन्तान प्राप्ति, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रद्धालुले सूर्यको पूजा गर्ने परम्परा छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत बस्ने गरेका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको थियो । चतुर्थीका दिन स्नान गरी चोखो भोजन गरेर व्रत सुरु गर्ने परम्परा छ । पर्व नसकिएसम्म ब्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोलगायतका खाद्यपदार्थ सेवन गर्दैनन् । विधिपूर्वक तयार पारिएको प्रसादसहित षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सम्पन्न हुन्छ ।
मिथिला संस्कृतिमा आधारित छठ पर्व परम्परागत रूपमा विशेषगरी तराई क्षेत्रमा मनाइँदै आए पनि विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत विस्तार भएको हो । विसं २०६३ देखि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्त्वका साथ छठ मनाउन थालिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ मनाउन छाडिएको छ । पछिल्लो समय कमलपोखरी छठ पूजाको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
काठमाडौँका गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलगायत स्थान छठ पूजाका प्रमुख स्थलका रूपमा विकास हुँदै गएका छन् । बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा पूजा स्थल निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ । राजधानीका विभिन्न स्थानमा छठ मनाउने श्रद्धालुको सहभागिता बढ्दै जाँदा यस पर्वले काठमाडौँको धार्मिक तथा सांस्कृतिक विविधतालाई थप उजागर गरेको छ ।
छठ पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले पूजा स्थलमा भीड व्यवस्थापन, दर्शन तथा पूजालाई व्यवस्थित बनाउने र बिरामी तथा अशक्तका लागि आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गर्ने काम गर्दै आएको छ । साथै घर फर्कन समस्या भएका श्रद्धालु तथा ब्रतालुलाई गन्तव्यसम्म पुर्याउने, खानेपानी र स्वास्थ्य सेवासहितका आवश्यक सुविधा उपलब्ध गराउने व्यवस्था पनि महानगरले मिलाउँदै आएको छ ।
