कोप-३१ मा शून्य फोहोर सम्बन्धी संवाद

कोप - ३१

काठमाडौँ, कार्तिक ३० । जलवायु परिवर्तन न्यूनीकरण तथा दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो वेस्ट) को भूमिका र महत्व उजागर गर्ने उद्देश्यले क्रिएसन नेपालको आयोजनामा कोप – ३१ अन्तर्गत विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ ।

टर्किएको अन्ताल्यास्थित नेपालको राष्ट्रिय पेभिलियनमा आयोजित कार्यक्रममा क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले सहजीकरण गर्नुभएको थियो । उहाँले दिगो फोहोर व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा आम नागरिकको सक्रिय, समावेशी र एकीकृत सहभागिता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अफ्रिका सर्कुलरका बिएसएफ सिस्टम्स विज्ञ पिओत्र बार्चाक, दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) का महानिर्देशक नोर्बु वाङ्चुक, चिलीको राष्ट्रिय फोहोर सङ्कलक सङ्घकी अध्यक्ष तथा रेडलाक्रेको अन्तरराष्ट्रिय सचिवालय सदस्य सोलेदाद मेल्ला र इन्टरएक्टिभका संस्थापक महाप्रबन्धक तथा उपाध्यक्ष एवं क्लाइमको टर्कीका कार्यकारी बोर्ड सदस्य भोल्कान उराल सहभागी हुनुहुन्थ्यो ।

छलफलमा बार्चाकले बिएसएफ प्रणाली, फोहोर व्यवस्थापनका व्यावहारिक समाधान र विश्वव्यापी अनुभव प्रस्तुत गर्दै चक्रीय अर्थतन्त्रतर्फको सङ्क्रमणलाई तीव्र बनाउने उपायबारे धारणा राख्नुभयो । उहाँले फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने प्रणालीको विकासले दिगो व्यवस्थापनमा योगदान पुर्‍याउने विषयमा जोड दिनुभयो ।

त्यसैगरी, वाङ्चुकले दक्षिण एसियाली क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्दै दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको प्रवद्र्धनका लागि क्षेत्रीय सहकार्य तथा साझेदारी आवश्यक रहेको बताउनुभयो ।

मेल्लाले फोहोर सङ्कलन तथा व्यवस्थापनमा संलग्न श्रमिकको भूमिकामाथि प्रकाश पार्दै उनीहरूको योगदानको उचित पहिचान र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले फोहोर व्यवस्थापन प्रणालीलाई प्रभावकारी र समावेशी बनाउन श्रमिकको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।

उद्योग क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्दै उरालले चक्रीय समाधान, स्रोतको पुनःप्राप्ति तथा दिगो फोहोर व्यवस्थापनका सम्भावना र व्यावहारिक उपायबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा शून्य फोहोरको अवधारणालाई व्यवहारमा उतार्न सामूहिक प्रतिबद्धता, समावेशी सहभागिता र चक्रीय अर्थतन्त्रको प्रवद्र्धनमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको थियो । फोहोरमैला व्यवस्थापनलाई सरसफाइमा मात्र सीमित नराखी जलवायु परिवर्तन न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण र दिगो विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत संवादले दिएको छ ।

क्रिएसन नेपालले शून्य फोहोरतर्फको रूपान्तरणलाई तीव्र बनाउन सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ । फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिक स्वयं पनि अभियानको महत्वपूर्ण हिस्सा भएकाले व्यक्तिगत व्यवहार र जीवनशैलीमा परिवर्तन ल्याउनुपर्नेमा संस्थाले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *