बैतडीमा पहिराेले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते
बैतडी, ८ साउन । बैतडीमा पहिराेले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ ।
आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराेले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो । पहिराेले पुरिएर तीन जना घाइते भएका छन् ।
पहिराेले पुरिएर मृत्यु हुनेमा पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।
