भक्तपुरमा शनिबार सांस्कृतिक सम्पदा पदयात्रा हुने

भक्तपुर, १९ साउन । भक्तपुरमा शनिबार सांस्कृतिक सम्पदा पदयात्रा हुने भएकाे छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा श्रावण २० गते शनिबार ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको हाे ।

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाको सूचनामा उल्लेख छ ।

पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।

उक्त पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखुबाट सुरु हुने र वडा नं १ स्थित न्हुः पुखु (रानी पोखरी) मा समापन हुने भएको छ ।

सम्पदा पदयात्राका क्रममा सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको छ ।

सम्पदा पदयात्रा काे रूट हेर्नुहाेस….
लामग पुखु – नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) – न्हु पुखु ( रानी पोखरी)