अब हनुमानढोकामा गाईजात्रा निकाल्न पनि महानगरपालिकाको स्वीकृति चाहिने !

काठमाडौं, २८ साउन । काठमाडौंका सबैजसो परम्परागत जात्रापर्वहरू आयोजना गरिने केन्द्रका रुपमा रहेको हनुमानढोका दरवार क्षेत्रमा अब परम्परागत सांस्कृतिक जात्रापर्वहरू आयोजना गर्न पनि काठमाडौं महानगरपालिकाको पूर्व स्वीकृति लिनुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले हनुमानढोका दरवार क्षेत्रका सम्बन्धमा हालै जारी गरेको सार्वजनिक सूचनामा यो कुरा उल्लेख गरिएको छ । महानगरपालिकाको उक्त १० बुँदे सूचनाको नवौं नम्बरमा भनिएको छ– स्थानीय संस्कृति एवं दरवार क्षेत्र लक्षित परम्परागत कार्यक्रमका लागि महानगरको पूर्व स्वीकृति चाहिने ।

यही बुँदामा अबदेखि बसन्तपूर क्षेत्रमा कुनै पनि प्रकारको राजनीतिक सभा, सम्मेलन एवं कार्यक्रम आयोजना गर्न नपाइने व्यहोरा पनि उल्लेख गरिएको छ ।

महानगरपालिकाले जारी गरेको यो सूचनाका सबैजसो बुँदा उचित भए पनि परम्परादेखि चल्दै आइरहेका सांस्कृतिक पर्वहरू आयोजना गर्न समेत महानगरपालिकाको पूर्व स्वीकृति लिनुपर्ने बुँदाले भने यहाँका स्थानीयवासीलाई आक्रोशित बनाएको छ ।

महानगरपालिकाको यो बुँदा अनुसार अब हनुमानढोका दरवार क्षेत्रमा हरेक वर्ष मनाउँदै आइरहेको गाइजात्रा, इन्द्रजात्रा, कुमारीको रथयात्रा, होली, सेतो मत्स्येन्द्रनाथको रथयात्रा आदि जस्ता पर्वहरू सञ्चालन गर्न पनि महानगरपालिकाको स्वीकृति लिनुपर्ने हुन्छ ।

महानगरपालिकाको यो सूचनाप्रति सांस्कृतिक अभियन्ताहरूले पनि विरोध जनाएका छन् । यस विषयमा अभियन्ताहरूले महानगरपालिकाको ध्यानाकर्षण पनि गराएको छ ।

महानगरपालिकाको नयाँ सूचना अनुसार अब हनुमानढोका दरवार क्षेत्रभित्र धुम्रपान, मध्यपान, चिया मकै बेच्ने, खेलकुद, पोस्टर टाँस, माग्ने कार्य जस्ता कामहरू गर्न नपाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *