बङ्गलादेशमा छिट्टै बिजुली निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुली निर्यातका लागिसमेत स्पष्ट लक्ष्यसाथ सरकार अघि बढिरहेको बताउनुभएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक खपत गरी बढी भएको बिजुली भारतलगायतका देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको बताउनुभएकाे हाे ।

प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत् विकासका लागि योगदान पुर्याइरहेको निजी क्षेत्रको उत्पादित विद्युत्समेत खरिद गरिरहेको प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीमार्फत आगामी दिनमा विद्युत् उत्पादन क्षेत्रमा सशक्त र अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

देश जलविद्युत् उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशका रूपमा परिचित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जलवायु जोखिमसँग सम्बन्धित पक्षलाई समेत मनन गर्दै बिना विलम्ब यस अवसरको उपयोगिता लिन हामीपछि पर्नु नहुने बताउनुभयो ।

विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनले नेपालको जलस्रोत क्षेत्रमा परिरहेको प्रभाव अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विद्युत् उत्पादन र लगानीको दीर्घकालीन योजना निर्माण गर्दा जलवायु परिवर्तनले भविष्यमा पार्नसक्ने असरको प्रक्षेपणलाई अवलम्बन गर्न जरुरी भएको बताउनुभयो ।

यसै वर्षायामभित्र नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरू हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको उहाँको भनााइ छ ।

अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बङ्गलादेश विद्युत् व्यापारलाई भविष्यमा क्रमशः बढवा दिँदै लैजाने परिस्थिति बनेको तथा आगामी महिनामा हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *