कांग्रेस नेता तथा सांसद डा चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।

उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

“शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।” डा नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उहाँलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताउनुभयो ।

उहाँका अनुसार नेता भण्डारीको पुनः मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते हुनुभएका उहाँको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो ।

“जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो”, उहाँले भन्नुभयो, “दागहरु निकालेर छाला प्रत्यारोपण गरिएको हो ।”

उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसहित प्राडा बिडी झा, प्राडा शङ्करमान राई, डा किरण नकर्मी, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा विशाल कार्की डा प्रविन गिरी, डा सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा प्रज्वल श्रेष्ठ गरी ११ जनको चिकित्सको टोली उपचारमा संलग्न रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *