ऐतिहासिक ‘कार्तिक नाच’ कात्तिक २७ गतेदेखि पाटनमा प्रदर्शन हुने: आर्थिक अभाव र जनशक्ति संकटका बीच १२ दिन चलाइने

कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक संजय शर्मा राजोपाध्यायका अनुसार यो नाच सुरुमा ५ दिन प्रदर्शन गरिएको थियो। पछि सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले 'बाथःप्याखँ' (लोक नाटक), 'सुदामा प्याखँ' र 'सुरदास प्याखँ' थपेर यसलाई १५ दिन पुर्‍याएका थिए।

ललितपुर, कार्तिक ६ । ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको विश्वप्रसिद्ध ‘कार्तिक नाच’ यस वर्ष आगामी कात्तिक २७ गते शुक्रबारदेखि पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा प्रदर्शन हुने भएको छ।

कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार यस वर्षको नाच सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी तीव्र पारिएको छ। यो ऐतिहासिक नाच हरेक दिन साँझ ७ बजेदेखि १२ दिनसम्म नियमित रूपमा सञ्चालन हुनेछ।

मल्लकालीन परम्परा र धार्मिक मान्यता

भगवान् विष्णुका १७ वटा पौराणिक कथामा आधारित रहेर हरेक दिन फरक-फरक लीला र कथा प्रस्तुत गरिने यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा भयमुक्त वातावरण सिर्जना गर्न सुरु गरेको जनविश्वास छ।

इतिहास अनुसार नेपाल संवत् ७६१ (वि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्यायको सहयोगमा यो नाच प्रारम्भ गराउनुभएको थियो।

२७ दिनबाट १२ दिनमा खुम्चियो ‘संसारकै लामो नाट्य महोत्सव’

कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक संजय शर्मा राजोपाध्यायका अनुसार यो नाच सुरुमा ५ दिन प्रदर्शन गरिएको थियो। पछि सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ (लोक नाटक), ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याएका थिए। कालान्तरमा २७ दिनसम्म सञ्चालन गरिने यो नाचलाई संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिन्थ्यो।

तर, वि.सं. २००७ को जनक्रान्तिपछि यो नाटक थोरै दिनमा सीमित हुन पुग्यो। वि.सं. २००८ देखि २०३७ सम्म वराह र नरसिंह अवतार गरी दुई दिन मात्रै देखाइएको यो नाच वि.सं. २०७१ देखि १२ दिनसम्म चलाउन थालिएको थियो। कोभिड-१९ महामारीका कारण वि.सं. २०७७ मा पुनः २७ दिनको सट्टा दुई दिनमा मात्र सीमित भएको यो नाच यस वर्ष भने १२ दिन नै प्रदर्शन गर्न लागिएको छ।

तत्कालीन समयमा मैथिली भाषामा संवाद गरिने यो नाच नेवार समुदायले नबुझ्ने भएकाले पछिल्लो समय नेपाल भाषामा अनुवाद गरी प्रस्तुत गर्न थालिएको छ। धार्मिक, तान्त्रिक र जातीय सद्भावका दृष्टिले समावेशी मानिने यो अमूर्त सम्पदा आजसम्म बिना कुनै अवरोध निरन्तर चलिरहेको छ।

आर्थिक अभाव र कलाकार पलायनको चुनौती

नाचलाई पुरानै शैलीमा २७ दिन नै सञ्चालन गर्न दक्ष कलाकारको अभाव, भाषागत समस्या र आर्थिक स्रोतको ठूलो चुनौती रहेको संयोजक राजोपाध्यायले बताउनुभयो।

“कलाकारहरूलाई उचित पारिश्रमिक दिन नसकिएको अवस्था छ,” राजोपाध्यायले भन्नुभयो, “युवा पुस्ता विदेश पलायन हुने क्रम बढेको छ भने नयाँ पुस्तामा भाषागत समस्या देखिन्छ। अर्कोतर्फ सरकारी तहबाट पनि पर्याप्त सहयोग पाउन सकिएको छैन।”

नाचलाई दीर्घकालीन रूपमा निरन्तरता दिन संरक्षण समितिले रु. १० करोडको संस्थागत अक्षयकोष स्थापना गर्ने, कलाकारहरूलाई व्यावसायिक बनाउने र नयाँ पुस्तालाई भाषागत तालिम तथा प्रशिक्षण दिने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *