काष्ठमण्डपको फैसला आज पनि भएन

काठमाडौं, ३ भदौ । पुनर्निर्माण गरिएको काष्ठमण्डप भित्र स्थापित गोरखनाथ र चार विनायकको मूर्ति सम्बन्धी मुद्दामा आज पनि फैसला भएन । आज उक्त मुद्दाको पेशी १ नम्बरमै गर्ने भनी तोकिएको थियो । तर समय नमिलेका कारण पुनः सारिएको छ ।

काष्ठमण्डप पुनर्निर्माण गर्दा त्यहाँ भित्र रहेका गोरखनाथ र चार विनायकका मूर्तिहरू नयाँ बनाई स्थापना गरिएको थियो । तर सम्पदा अभियन्ताहरूले पुरातात्विक महत्व भएका पुराना मूर्तिहरू निकालेर नयाँ राखिएको भनी सर्वोच्चमा रिट हालेपछि मूर्तिसम्बन्धी यो विवाद सतहमा आएको थियो ।

विसं २०७२ सालको भूकम्पमा काष्ठमण्डप पूरै क्षति भएको थियो भने त्यहाँ भित्र रहेका यी मूर्तिहरूमा पनि क्षति पुगेको थियो । काष्ठमण्डप पुनर्निर्माण समितिले स्थानीय नेपाली समाजमा खण्डित मूर्ति पूजा गर्ने चलन नभएको कारण जनाई भूकम्पमा क्षति भएका मूर्तिहरूका ठाउँमा नयाँ मूर्ति बनाई स्थापना गरेको थियो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले अहिले यो विषय अदालतमा प्रवेश गरिसकेका कारण अदालतको फैसला पर्खनु बाहेक अर्को उपाय नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘क्षति भएका पुराना मूर्तिहरू पनि हामीसँग सुरक्षित नै छ । अब अदालतले पुरानै राख्नुपर्छ भन्छ भने पुरानै राख्छौँ, नयाँ ठीक छ भन्यो भने अहिले राखिएकै ठीक भइहाल्यो । जे फैसला भए पनि हामीलाई स्वीकार्य छ ।’

मूर्ति सम्बन्धी यही विवादका कारण पुनर्निर्माण सकिएर पनि काष्ठमण्डप खुला गर्न नसकिएको बताइन्छ । यसबारे अध्यक्ष शाक्य भन्नुहुन्छ, ‘समितिको काम काष्ठमण्डप पुनर्निर्माण गर्ने हो । त्यो काम सकिएको छ । अब महानगरपालिकालाई हस्तान्तरण गर्छौँ । त्यसपछि काष्ठमण्डप खोल्नेबारे महानगरपालिकाले जे निर्णय गर्छ त्यही हुन्छ ।’

हस्तान्तरण अघि महानगरपालिकाका उपमेयर सुनिता डंगोलले केही समय अघि काष्ठमण्डपको अनुगमन गर्नुभएको थियो । अब काष्ठमण्डप हस्तान्तरणको लागि तयारी भइरहेको पनि शाक्यले बताउनुभयो ।