चप्पल बनाउने सीप सिकाएर महिलालाई स्वरोजगार बनाउँदै सन्ध्या
आत्मनिर्भर र स्वरोजगार
काठमाडौँ, मंसिर ५ । तुलसीपुर उपमहानगरपालिका ७ घुसेरीकी ४२ वर्षीया सन्ध्या पौडेल महिलालाई चप्पल बनाउने सीप सिकाउँदै आत्मनिर्भर र स्वरोजगार बनाउन सक्रिय हुनुहुन्छ । उहाँले तुलसीपुर उपमहानगरपालिका ६ बरुवा गाउँमा सञ्चालन गरेको ‘सन्ध्या लेडिज चप्पल तालिम केन्द्र’मार्फत महिलालाई सीप प्रदान गर्दै आउनुभएको छ ।
गत वर्षदेखि सञ्चालनमा आएको तालिम केन्द्रबाट हालसम्म २०० भन्दा बढी महिलाले चप्पल बनाउने सीप सिकिसकेका छन् । पौडेलले महिलालाई विभिन्न समूहमा विभाजन गरी प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँदेखि पाँच हजार रुपियाँसम्म शुल्क लिएर तालिम प्रदान गर्दै आउनुभएको छ ।
तालिममा सहभागी महिलालाई महिलाले प्रयोग गर्ने चप्पल, जुत्ता, स्यान्डिल तथा बेहुली चप्पल बनाउन सिकाइन्छ । तालिमबाट प्राप्त सीपलाई उपयोग गरी आफ्नै गाउँठाउँमा उत्पादन तथा बिक्री व्यवसाय सञ्चालन गर्न सकिने पौडेलको भनाइ छ ।
तालिमसँगै उहाँले तुलसीपुर बजारमा चप्पल बिक्री गर्ने पसलसमेत सञ्चालन गर्नुभएको छ । मेहनत र लगनशीलताका साथ काम गर्न सके छोटो समयमै राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । तीजदेखि दसैँ-तिहारसम्मको अवधिमा रु दुई लाखसम्मका जुत्ता तथा चप्पल बिक्री गरेको उहाँले बताउनुभयो ।
पौडेलबाट तालिम लिएका पाँच महिलाले आफ्नै ठाउँमा चप्पल उत्पादन तथा बिक्रीका लागि पसल सञ्चालन गरिसकेका छन् । तुलसीपुर बसपार्कमा दुई, पश्चिम दाङको बबई गाउँपालिका–हंसपुरमा एक, सल्यानमा एक र रोल्पामा एक गरी पाँच स्थानमा तालिमप्राप्त महिलाले व्यवसाय सुरु गरेका हुन् ।
चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालगञ्ज, बुटवल र काठमाडौँबाट ल्याउने गरिएको पौडेलले जानकारी दिनुभयो । थोरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने भएकाले महिलाका लागि यो सीप आयआर्जनको राम्रो माध्यम बन्न सक्ने उहाँको अनुभव छ ।
उहाँको उद्यमशीलता चप्पल बनाउने तालिममा मात्र सीमित छैन । पौडेलले २०७८ सालदेखि तुलसीपुर बजारमा सर्फ, साबुन, बाटेको धूप, अगरबत्ती, हार्पिक तथा नुहाउने साबुन बनाउने तालिमसमेत प्रदान गर्दै आउनुभएको छ ।
स्थानीय तहसँगको समन्वयमा तुलसीपुर उपमहानगरपालिका ७ मा गत वर्ष सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिमबाट पौडेलसहित धेरै महिला लाभान्वित भएका छन् । तालिम लिएका केही महिलाले आफ्नै पेसा तथा व्यवसायसमेत सुरु गरिसकेका छन् ।
सीप नै आत्मनिर्भरता र समृद्धिको आधार भएकाले महिलालाई सीप सिकेर स्वरोजगार बन्न पौडेलको सुझाव छ । घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । तालिमलाई व्यावसायिक उत्पादन र स्वरोजगारसँग जोडेर महिलालाई आर्थिक रूपमा सक्षम बनाउने अभियानमा आफू निरन्तर सक्रिय रहेको उहाँको भनाइ छ ।
