एमालेको माग पूरा, सुन तस्करी छानविनका लागि आयोग बन्ने
काठमाडौं, ६ भदौ । नेकपा (एमाले)ले सुन तस्करी छानविनका लागि उच्तस्तरीय समिति बनाउने माग गर्दै आएको थियो । एमालेको उक्त मागलाई आज सबै राजनीतिक दलले सहमति जनाएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने मान्यताप्राप्त दलहरुबिच भएको २ बुँदे सहमतिपछि अब एमालेले माग गरे जस्तो सुन तस्करी छानविनका लागि समिति बन्ने भएको छ । यहि साउन २ गते ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेलगत्तै सरकारले जाँचबुझ आयोग बनाउने सहमति दलहरुबिच भएको हो ।
‘मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो,’ दुई बुँदे सहमतिमा भनिएको छ,’ ‘उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्ने छ ।’
सहमतिको दोस्रो बुँदामा सो पछि समिति बनाउने उल्लेख छ । ‘विदेशबाट इलेक्ट्रिकस सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी गरिएको मिति २०८० साउन २ गते ब्रेक–सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटक–पटक सुन तस्करी भइ मुलुक भित्र आइरहेको विषयलार्ए गम्भीरतापूर्वक लिइ स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा काूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदशन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८० /०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ,’ दुई नम्बर बुँदामा भनिएको छ ।
सहमतिमा रमेश लेखक, नेपाली कांग्रेस, पदम गिरी, नेकपा (एमाले), हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रिय स्वतन्त्र पार्टी, ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रदीय यादव जनता समाजवादी पार्टी, अब्दुल खान जनमत पार्टीले हस्ताक्षर गरेका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरीले पनि २ साउनमा बरामद भएको सुनबारे सीआईबीले अनुसन्धान सकेर मुद्दा अघि बढाएलगत्तै आयोग बनाउने सहमति भएको जानकारी दिनुभयो ।