गायनमा नव गायिका सिम्रनको चर्चा

बागलुङ, ७ भदौ । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएकाे छ सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ वटा गीत मात्रै रेकर्ड गराइन र अधिकांश गीतले चर्चा कमाएको छ ।

विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।

परियारको मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीतले अहिले चर्चा पाएका छन् ।

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियारले यूट्युवर भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताउनुभयो । केही दिनअघिसम्म गाउँघरमै सीमित उहाँको पहिलो गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहनुभएकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ ।