चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ हिजाेदेखि प्रदर्शनमा

काठमाडौं, १५ भदौ । सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् ।

शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गर्नुभएको छ । यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै केन्द्रित भने नरहेको निर्देशक चौलागाईंले बताउनुभयो ।

चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो ।

बिहीबारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’लाई सविन अधिकारीले निर्देशन गर्नुभएको छ । उहाँकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गर्नुभएको छ । अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताउनुभयो ।

चलचित्रमा हरिबहादुर घलेले छायाँङ्कन, विपिन मल्लले सम्पादन र कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।