शाहरुखको ‘जवान’ ले बनाए कमाइको नयाँ कीर्तिमान, तर लाग्यो कथा चोरेको आरोप

काठमाडौं, २४ भदौ । बलिउडका सुपर स्टार शाहरुख खान अभिनित नयाँ सिनेमा ‘जवान’ ले बलिउडको सिनेमा बजारमा नयाँ उछाल ल्याएको छ । ‘जवान’ ले छोटो समयमा सबैभन्दा बढी रकमको व्यापार गर्ने नयाँ कीर्तिमान समेत बनाएको छ ।

‘जवान’ रिलिज भएको तीन दिनमै भारु २२९.६६ करोडको नेट कलेक्सन गरेको छ । यसले रिलिज भएको पहिलो दिनमै ७५ करोड भारु व्यापार गरेको थियो । दोस्रो दिन अलि खस्केको व्यापार तेस्रो दिनमा फेरि सुध्रेको थियो । तीन दिनमै विश्वभरिमा २२९.६६ करोड भारु कमाइ गर्ने ‘जवान’ नै भारतको पहिलो ब्लकबस्टर सिनेमा बनेको छ ।

आठ महिना अघि मात्रै शाहरुखको ‘पठान’ सार्वजनिक भएको थियो जसले बलिउडमा धेरै वर्ष पछि नयाँ उधुम ल्याइदिएको थियो । लगातार चार वर्ष फ्लप फिल्म दिँदै आएका शाहरुखलाई ‘पठान’ ले पुनः पुरानै सिंहासनमा फर्काइदिएको थियो । अहिले ‘जवान’ ले पनि त्यसरी नै तीन दिन लगातार नोट छाप्न थालेपछि शाहरुख फेरि एकचोटी बलिउडका सर्वाधिक लोकप्रिय कलाकार रहेको पुष्टि भएको छ ।

यसै बीच शाहरुखको नयाँ फिल्म ‘जवान’ लाई अर्काको कथा चोरेको आरोप लागेको छ । आजभन्दा धेरै वर्ष अघि बनेको तामिल फिल्म ‘थाइ नाडु’ र ‘अर्रामबाम’ को कथा चोरेर ‘जवान’ बनाएको आरोप सामाजिक सञ्जालमा व्यापक बन्न थालेको छ ।

यी फिल्मका स्क्रिनशटहरू हाल्दै ‘जवान’ ले कथा चोरेको आरोप लगाएर सामाजिक सञ्जालमा लेख्नेहरूको बाढी नै आएको छ । फिल्म निर्माताले भने यसको पूरै खण्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएको छ ।

‘जवान’ ले अन्तर्राष्ट्रिय बजारमा उधुम मचाए जस्तै नेपाली सिनेमा बजारमा पनि राम्रो व्यापार गरिरहेको छ ।