बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २८ गतेदेखि

मोरङ, ६ असोज । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ । जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद रू आठ लाखसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद पाँच लाख सहित ट्रफी साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले जानकारी दिनुभयो ।
उहाँले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिनुभयो ।
प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडाैं, विग्रेड ब्वाइज क्लब काठमाडाैं, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी आठ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु बस्नेतले उल्लेख गर्नुभयो । प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले उल्लेख गरेको छ ।