चिकित्सक आन्दोलनबाटै लखेटिए चिकित्सकका नेता कार्की (भिडियोसहित)

काठमाडौं, १० असोज । केही दिनदेखि शिक्षक आन्दोलनका कारण अशान्त बनेको माइतीघर मण्डला र आसपासको क्षेत्र आज चिकित्सकहरुको आन्दोलनका कारण अशान्त बन्न पुगेको छ । चितवन, मणिपाल शिक्षण अस्पताललगायतका स्थानमा चिकित्सकहरुमाथि निरन्तर आक्रमण भएपछि सुरक्षित कार्यक्षेत्रको माग गर्दै चिकित्सकहरु अहिले आन्दोलित बनेका छन् ।

आज माइतीघर मण्डलमा यसैगरी आन्दोतिल बनेका चिकित्सकहरुका बिचमा नेपाल चिकित्सक संघका अध्यक्षमा डा. अनिलविक्रम कार्की आएपछि चिकित्सकहरु थप उत्तेजित बनेका थिए । स्वास्थ्यकर्मी कुट्न पाइँदैन, कामेको हातले उपचार संभव छैन, असुरक्षा र त्रासमा उपचार गर्ने कसरी ? आन्दोलित चिकित्सकहरुले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ? सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलित बनेका चिकित्सकहरुको बिचमा कार्कीले केही सम्वोधन गर्न खोजेपछि चिकित्सकहरु थप उत्तेतिज बन्दै कार्कीलाई सम्वोधनको अवसर नै दिएनन् ।

कार्कीले केही बोल्न खोजेपछि चर्का नारा लगाएर चिकित्सकहरुले बोल्न नदिएपछि कार्की असिनपसिन बन्नु भएको थियो । भीडले नेपाल चिकित्सक संघको थप विरोध गर्न थालेपछि कार्की भीडबाट निस्किनु भयो ।

बारम्बार चिकित्सकहरुमाथि आक्रमण हुँदा पनि संघले अविभावकीय भूमिका खेल्न नसकेको, सरकारलाई दबाब नदिएको जस्ता आक्रोस त्यहाँ देखिन्थ्यो । वीर अस्पतालमा कार्यरत चिकित्सक शेषराज घिमिरेले बारम्बार चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने, कार्यक्षेत्रलाई सुरक्षित बनाउन राज्यले भूमिका खेल्नुपर्ने जस्ता माग राखेर आन्दोलित भएको जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीलाई भीडबाट निकालेपछि घिमिरेले उत्तेजित बनिरहेका डाक्टरहरुलाई संयमित हुन आग्रह गर्दै संघले चिकित्सकहरुको पक्षमा सकारात्मक भूमिका खेल्न नसकेको भन्दै माग सम्वोधन नहुन्जेलसम्म आन्दोलन जारी राख्ने उद्घोष गर्नुभयो । अहिलेसम्मका दोषीलाई कारबाही गरी छानविनको दायरामा ल्याउनु पर्ने, चिकित्सकहरुमाथि निरन्तर हुने आक्रमणका कारक तत्वहरुको खोजी गरि उनीहरुलाई पनि छानविनको दायरामा ल्याउनुपर्ने जस्ता माग रहेको उहाँको भनाई छ ।

आन्दोलित चिकित्सकहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग पनि राखेका छन् । चिकित्सकहरुले दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने भन्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।