इन्द्रजात्राका लागि आजदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन निषेध

काठमाडौं, ११ असोज : येँयाः पुन्ही (इन्द्रजात्रा) को अवधिमा आजदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

यसैगरी भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ ।

यसैगरी असोज १५ गते प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा पनि सवारी निषेध गरिएको जनाइएको छ ।

महानगरले काठमाडौंको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने जनाएको छ ।

साथै महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन र त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदलयात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउनसमेत सबैमा आग्रह गरेको छ ।

आज रथ यात्रा

बिहीबारदेखि इन्द्रजात्रा अन्तर्गत रथ यात्रा सुरु हुनेछ । बिहीबार पहिलो दिन तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथ यात्रा हुनेछ ।

रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नुहुनेछ । रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवंगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ ।