बसन्तपुरमा कुमारी रथयात्रा, राष्ट्रपतिदेखि सर्वसाधारणको चहलपहल
काठमाडौं, ११ असाेज । ऐतिहासिक जीवित देवी कुमारीको रथयात्रा बसन्तपुरमा सुरु भएको छ । परम्परा अनुसार इन्द्रजात्राको तेस्रो दिन अर्थात् आज भाद्रशुक्ल चतुर्दशीका दिन श्री कुमारी, श्री गणेश र श्री भैरवको रथलाई काठमाडौंको क्वःने (तल्लो भेग) मा तान्ने चलन छ ।
रथयात्रा अघि राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले हनुमान ढोकास्थित गद्दी बैठकमा सवारी भई कुमारीको प्रसाद ग्रहण गर्ने र रथयात्रा नजर गर्ने चलन छ ।
ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकमा जानुभइ जात्रा अवलोकन गर्नुभएकाे थियाे ।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदलनै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुग्नुभएकाे थियाे ।
जात्रा अवलोकनका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगाएत गद्दी बैठकसम्म पुगेर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएकाे थियाे ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्नु अघिसम्म इन्द्रजात्रामा श्री कुमारीको रथयात्रा हुँदा गद्दी बैठकमा बसी जात्रा नजर गर्ने, कुमारीको प्रसाद ग्रहण गर्ने, नानीचायाःका दिन कुमारीघर गई श्री कुमारी, श्री गणेश र श्री भैरवबाट टीका ग्रहण गर्ने कार्य राजाका तर्फबाट गरिने चलन थियो । अहिले यी सबै धार्मिक साँस्कृतिक अनुष्ठानहरु राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिबाट सम्पन्न हुँदै आइरहेको छ ।
रथयात्रा प्रारम्भ गर्नु अघि लाखे, पुलुकिसि, सवः भक्कु, महाकाली नाच प्रदर्शन गरिएको थियो । क्वःने अर्थात् तल्लो भेगमा रथ तान्ने चलन अनुसार आज हुनमानढोका दरवार क्षेत्र परिसरबाट मरु त्वाः, भिमसेनस्थान, कोहिति, ह्युमतः टोल, वन्डे ब्रम्हटोल, गोफः, लगँ, न्हूघः (जोशी देगः) चिकँमुगः अट्कोनारायण हुँदै हनुमानढोका परिसरमै पुर्याएर समापन गरिन्छ ।
त्यसैगरी कुमारीको रथयात्रा चलाइने जैशीदेवलस्थित डबलीमा दीप्याखं प्रदर्शन गरिन्छ । आजै बेलुकी मरु टोलको छ्वासपाखाबाट दागिं निकाली थःने र क्वःनेको कुमारीकाे रथ तान्ने मार्गमा परिक्रमा गरि सोही ठाउँमा आई विसर्जन हुन्छ भने काष्ठमण्डप पछाडिबाट बौमत निकाली यो पनि थःने र क्वःने मार्गमा परिक्रमा गरि काष्ठमण्डप अगाडि नै ल्याउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा उठाएर सुरु भएको इन्द्रजात्रा आश्विनकृष्ण चौथीका दिन कुमारीको रथलाई काठमाडौंको माथिल्लो भेगमा रहेको किलागल टोलबाट तानेर जात्रा गरिन्छ । यस दिनलाई नानीचायाः भनिन्छ । उक्त दिनको जात्रा सकिएपछि कुमारीघरमा राष्ट्रप्रमुख सवारी भई श्री कुमारी, श्री गणेश र श्री भैरवको हातबाट टीका ग्रहण गर्ने चलन छ । सोही राति हनुमानढोकामा यःसिं ढालेर टेकु दोभानसम्म तानेर ल्याई त्यहीं सेलाउने गरिन्छ । यसरी हरेक वर्षको इन्द्रजात्रा समापन हुन्छ ।
इन्द्रजात्रा आठ दिन सञ्चालन हुने भए पनि त्यसको लागि आवश्यक तयारी भने धेरै अघिदेखि नै चलिरहेको हुन्छ । नालास्थित यः सिंख्यः गई यः सिं (इन्द्रध्वज) उठाउन रुख खोज्ने काम, दीप्याखं, लाखे नाच, पुलुकिसी नाच, आकाशभैरव, हल्चोकआदि देवी–देवताको नाच निकाल्ने तयारी पनि इन्द्रजात्रा भन्दा धेरै अघिदेखि गर्ने परम्परा छ ।