जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना

म्याग्दी, १४ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत पुस्तकालयको स्थापना गर्न सहयोग गरेको हो ।

पुस्तकालयको लायन्स क्लब अफ ३२५ ‘बी’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई पाँच सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गर्नुभएको थियो । पुस्तकालयमा नेपालका प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक कुँवरले पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीलाई समेत सघाउने र आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउने बताउनुभयो । हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानका साथै थुनुवालाई भेट्न आउनेलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका रिजन पर्सन अर्जुन पौडेल, एवजी खम थापा, लायन्स क्लब अफ दोभानकी अध्यक्ष जमुना केसीले हिरासतमा रहेका व्यक्तिलाई पुस्तकालयको प्रयोगमा प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिने र सकरात्मक सोचको विकास गराउन सकिनेमा जोड दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *