मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमै कालोमोसो
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात मानिहरूले काठमाडौंमा कालोमोसो दलेका छन् ।
काठमाडाैंको एल्लाे प्यागाेडा होटलमा प्रसाईंले एक पत्रकार सम्मेलन राखेका थिए । साेही पत्रकार सम्मेलन सकेर बाहिरिनेक्रममा उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।
प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ ।
प्रसाईंले केही समय अघि बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।