कोशी ब्यारेजको विकल्पमा ४३ अर्ब लागतको नयाँ पुल निर्माण गरिने

सप्तरी, १३ कात्तिक । कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुने उक्त परियोजनाको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको छ।

सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार केही वर्षअघि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनका आधारमा पुल निर्माणको तयारी अघि बढाइएको हो। परियोजनाअन्तर्गत पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ।

नयाँ पुल तथा सडक सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी १४ किलोमिटरले घट्ने अपेक्षा गरिएको छ। हाल पुल तथा सडक निर्माणका लागि आवश्यक प्राविधिक तयारी र प्रक्रियागत काम भइरहेको निर्देशक ढकालले जानकारी दिनुभयो।

परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय तथा कानुनी स्वीकृतिसम्बन्धी केही विषय टुङ्ग्याउनुपर्ने भएको छ।

पुरानो हुँदै गएको कोशी ब्यारेज र बढ्दो सवारी चापलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको वैकल्पिक मार्गले नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *