साँगा–धुलिखेल सडक विस्तारमा तीव्रता, काभ्रेतर्फ ७४ प्रतिशत काम सम्पन्न

काभ्रेपलाञ्चोक, १३ कात्तिक । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारको कामलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको अवधिमा पनि सम्पूर्ण काम नसकिने भएपछि आयोजनाले मुख्य काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्र बनाएको हो।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका अनुसार केही दिनदेखि बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र गर्ने काम सुरु गरिएको छ।

भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १५.८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी छ लेनमा विस्तार भइरहेको छ। काभ्रेपलाञ्चोकतर्फ साँगा–धुलिखेल खण्डको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ भने भक्तपुरतर्फ सूर्यविनायक–साँगा खण्डमा ५४ प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले जानकारी दिनुभयो।

साँगा–धुलिखेल खण्डको आठ किलोमिटर सडक विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिसँग २०७९ मङ्सिर २७ गते चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८२ मङ्सिर २५ गतेभित्र सम्पन्न गर्नुपर्ने काम तोकिएको अवधिमा ६० प्रतिशत मात्रै सकिएपछि एक वर्ष म्याद थपिएको थियो।

महतोका अनुसार काभ्रेतर्फ साढे तीन किलोमिटर सडकमा छ लेनमै पहिलो तहको कालोपत्र भइसकेको छ। त्यस्तै, ७.९ किलोमिटरमध्ये साढे छ किलोमिटर सडकमा चार लेनको पहिलो तहको कालोपत्र गरिएको छ। अब करिब डेढ किलोमिटर सडकमा कालोपत्र गर्न बाँकी छ। निर्माण सम्झौताको म्याद आगामी मङ्सिर २३ गतेसम्म रहेकाले प्रतिकूल परिस्थिति नआए मुख्य काम समयमै सकिने आयोजनाको अपेक्षा छ।

भक्तपुरतर्फ साइड स्ट्रक्चरको काम लगभग सकिएको छ। डेढ किलोमिटर सडकमा छ लेनमै पहिलो तहको कालोपत्र भएको छ भने साँगा अन्डरपासमा १.२ किलोमिटर सडकको दुई लेनमा पहिलो तहको कालोपत्र गरिएको छ। यस खण्डको म्याद आगामी फागुनसम्म छ।

सूर्यविनायक–साँगा खण्डको ७.३ किलोमिटर सडक विस्तारका लागि २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनीले मुख्य काम समयमै सक्ने र बाँकी काम थप समय लिएर २०८४ असारसम्म पूरा गर्ने लक्ष्य राखेको महतोले बताउनुभयो।

सडक विस्तारले गति लिए पनि जगाती खोला, महादेव खोला र पुण्यमाता खोलामा पुल निर्माण नसकिँदा यातायात सञ्चालनमा समस्या भइरहेको छ। पुल निर्माणस्थलमा खाल्डाखुल्डी र राति मालवाहक सवारीसाधनको चापका कारण जाम हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *