नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क आँखा परीक्षण

काठमाडौँ, ३० असोज । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको आँखा परीक्षण गरेको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा कर्मचारीहरूको आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिनुभयो ।

शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उहाँले आगामी दिनमा यस्ता आँखा परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यमा बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको आँखा परीक्षण गरिएको थियो ।