बैतडीको झुलाघाट नाका पूर्णरूपमा सञ्चालन

बैतडी, १ कात्तिक । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।
पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियोे । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ ।
झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।