नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

काठमाडौं, ३ कात्तिक । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) पदमा गरी
साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ ।

प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ ।

प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्णय हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।