बुटवलमा कात्तिक २५, २६ र २७ गते दीपावली महोत्सव हुने
बुटवल, २३ कात्तिक । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते ‘दीपावली महोत्सव–२०८०, बुटवल’ आयोजना गर्न लागिएको हो ।
सङ्घको शुक्रबार सङ्घ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिसमेत गठन गरेकोे सङ्घका महासचिव मुक्ति अधिकारीले जानकारी गराउनुभयो ।
महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा उपमहानगरपालिकाको वडानं ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहने छन् । सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ ।
यसैगरी गठन गरिएको विभिन्न छ उपसमितिमा सङ्घका पदाधिकारी, कार्यसमितिका सदस्य, तीन वटै वडाका एक एकजना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने सम्बन्धित क्षेत्रको टोल विकास संस्थाका पदाधिकारीलाई सदस्यमा रखिएको छ ।
उक्त सङ्घले पहिलो पटक आयोजना गर्न लागेको सो महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन हुने जनाइएको छ ।
