एमाले स्थायी कमिटी बैठकः राष्ट्रिय भेलालाई निर्वाचन र संगठन परिचालनमा केन्द्रित गर्ने
काठमाडौं, १ मङ्सिर । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलालाई आगामी स्थानीय निर्वाचनको तयारी, पार्टी संगठन सुदृढीकरण तथा परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको बैठकमा राष्ट्रिय भेलाको तयारीका विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार भेलाका लागि गठन गरिएका विभिन्न उपसमितिले गरेका तयारीबारे बैठकमा रिपोर्टिङ तथा छलफल भएको थियो।
राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा तथा आगामी दिनमा गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक अवस्था र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।
बैठकले राष्ट्रिय भेलाका लागि तय गरिएको कार्यसूची अनुमोदन गरेको छ। भेलामा देशभरबाट ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ।
यसैगरी, बैठकले मङ्सिर ५ गतेका लागि तय भएको पार्टीको चौथो केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मङ्सिर ४ गते बस्ने निर्णय गरेको छ।
