सिन्धुपाल्चाेककाे गौरतीमा भिमेश्वर मेला लाग्दै, मेलामा हजारौँ हिन्दूधर्मालम्बीले मेला भर्ने

दिपेन्द्र श्रेष्ठ, मैत्री न्यूज
सिन्धुपाल्चाेक, ६ मंसिर । सिन्धुपाल्चोककाे गौरतीमा अवस्थित गौरती भिमशेनकाे मेला यस वर्ष मलमासका कारण मंसिर ११ गते पूर्णिमाका दिन लाग्ने भएकाे छ ।

हरेक वर्षकाे कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष मलमासका कारण पछि सरेकाे हाे ।

सिन्धुपाल्चोककाे साँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऎतिहासिक धार्मिक स्थल गौरती भिमेश्वर मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन श्रदालु भक्तजनहरूले मेला भर्दै आइरहेकाे छ ।

सिन्धुपाल्चोक जिल्लाकै ठुलो मानिने गौरती भिमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

पौराणीक कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राती–राती एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राती दुध चढाएको कारण गौरती हुन गएको मान्यता छ ।

भिमेश्वरको मन्दिरमा पूर्णिमाका दिन भक्तजनहरू रातभर जाग्राम बसी भिमशेनकाे आराधना गरि बत्ति बालिन्छ साथै मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । मेला रातभरि नाचगान गरि भव्यताका साथ मनाइन्छ ।

मेलामा सदरमुकाम चौताराबाट भिमसेनको मूर्तीलाई रथमा तानेर पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ। त्यसरी फर्काइने बेला गुठीयारको घरघरमा रथ लगि पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा रहेकाे छ ।

धार्मिक आस्थाराख्ने भक्तजनहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जतिकै शक्तिशाली मान्दछन् र मनले चिताएको पुरा हुने विश्वास गरिन्छ ।

मेलाको अवशरमा दर्शनार्थिहरुलाई मनोरंजन गराउन गाैरती युवा समुहले विविध साँस्कृतिक कार्यक्रम समेत गर्दै आएका छन् । यस वर्ष युवा समुहले जात्राकै दिन सांगीतिक कार्यक्रम गर्दैछ । युवा समुहले जात्राकाे प्रचार प्रसार भव्यताका साथ गरी यस वर्ष हज्जाराै दर्शनार्थी भित्र्याउने जनाएकाे छ ।

मेला भर्न छिकेकी जिल्ला काठमाडाैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चाेक, दाेलखा, रामेछाप, नुवाकाेट, धादिङलगाएतका स्थानबाट हज्जाराै दर्शनार्थीहरु आउने गरिएकाे छ । गौरती भिमेश्वर काठमाडाैंबाट ८२ किलाेकिटरकाे दुरीमा रहेकाे छ ।