श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण

म्याग्दी, ७ मंसिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ ।

बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको हो ।

घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्याउन थियो ।

गत असोजको तेस्रो सातादेखि श्रमदान अभियानबाट पदमार्ग निर्माण सुरु भएदेखि स्थानीयवासी खुसी भएका छन् । पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गर्ने क्रम जारी छ ।

एक/एक ट्र्याक्टर बालुवा, गिट्टी र २० बोरा सिमेन्टबाट सुरुआत भएको पदमार्ग बनाउने अभियानमा अहिलेसम्म रु १३ लाख बढी नगद सहयोग जुटिसकेको पदमार्ग निर्माणका समितिले जनाएकाे छ ।

पदमार्ग निर्माण योजना अहिले सबैको साझा अभियान बनेको छ । यो योजनालाई सरकारी तवरको कुनै बजेट बिनै समुदायको साथ, सहयोग र सहकार्यको नमूना कार्यको रुपमा स्थानीयले पूर्णताः दिने जमर्को गरेका छन् । पदमार्ग बनाउन स्थानीयवासीले एक दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन् भने अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भइसकेको छ ।

माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ । सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन् । दसैँ र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन् ।

भगवतीका विभिन्न बस्तीका सहयोगदाताले आफ्नो दिवङ्गत आफन्तको सम्झनामा पदमार्ग बनाउन स्वतस्फुर्त सहयोग गर्ने क्रम जारी रहेको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो । “सुरुमा श्रमदानबाटै पदमार्ग बनाउन थाल्यौँ, अहिले विभिन्न व्यक्तिले सहयोग गरिरहनुभएको छ, अभियानमा जुटेको सहयोगबाट थप पदमार्ग बनाउन जनशक्ति पनि थप गरेका छौँ, हामी यहाँ ढलान गरेर बनाएका हरेक सिँढीमा हाम्रो पसिनाले सिञ्चित गर्न चाहन्छौँ, सबैको साथ, सहयोग, सहकार्य र समर्पणको भावनाले यो पदमार्गले पूर्णता पाउने निश्चित भएको छ”, केसीे भन्नुभयो ।

पदमार्ग बनाउन श्रमदान गर्ने युवासँगै सङ्कलित सहयोग रकमबाट ज्याला दिने गरी श्रमिकसमेत परिचालन गरिएको छ । पदमार्ग निर्माणलाई गति दिन जङ्गलमै पाल टाँगेर बास बस्ने प्रबन्ध मिलाइएको छ । अहिले दैनिकरुपमा १५ जनालाई ज्याला नै दिने गरी पदमार्ग निर्माणमा परिचानल गरिएको छ । ज्यालामा काम गर्नेसँगै श्रमदान गर्ने पनि दैनिकरुपमा पदमार्ग निर्माणमा जुट्ने गरेको स्थानीय युवा हिमाल कटुवालले बताउनुभयो । भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज हुने उहाँको भनाइ छ ।