अमिताभ बच्चनले आफ्नो सम्पत्ति छोरा र छोरी दुवैलाई बराबर बाँड्ने
काठमाडौं, १५ मंसिर । बलिउड सिनेमाका महानायक अमिताभ बच्चनले आफ्नो सम्पत्ति छोरा अभिषेक बच्चन र छोरी श्वेता बच्चन नन्दालाई बराबर बाँड्ने घोषणा गरेका छन् । उनले केही समय अघि नै आफ्नो सम्पत्तिको एक्लो हकदार छोरा अभिषेक बच्चन मात्र नहुने बताएका थिए ।
अमिताभ बच्चनसँग हाल कुल मिलाएर करिब ३२ अर्ब भारु बराबरको सम्पत्ति भएको बताइन्छ । उनले हालै मात्र छोरी श्वेतालाई ६० करोड मूल्य पर्ने मुम्बईको जुहुस्थित आफ्नो पुरानो चर्चित बंगला ‘प्रतिक्षा’ उपहार दिएका थिए ।
समाचार एजेन्सीहरूका अनुसार छोरा र छोरीलाई बराबर सम्पत्ति बाँड्ने घोषणा सँगसँगै अब अमिताभका छोरा अभिषेक र छोरी श्वेताको वर्तमान सम्पत्तिमा करिब १६–१६ अर्ब रुपैयाँ बराबरको सम्पत्ति थपिने भएको छ ।
अभिषेक बच्चनसँग अहिले २ अर्ब ८० करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । बुबा अमिताभको अंश पाएपछि उनको सम्पत्तिमा एकैचोटी ५६४ प्रतिशत वृद्धि भई १८ अर्ब ६० करोड पुग्नेछ ।
छोरी श्वेता बच्चनसँग अहिले कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । बुबा अमिताभले दिएको सम्पत्ति जोडेपछि उनको सम्पत्तिमा पनि एकैचोटी १४३६ प्रतिशत बढोत्तरी भई १६ अर्ब ९० करोड पुग्नेछ ।
जहाँसम्म अमिताभकी बुहारी ऐश्वर्या रायको सन्दर्भ छ, उनीसँग अहिले नन्द श्वेता बच्चनको भन्दा ५९० प्रतिशत बढी सम्पत्ति छ । तर अमिताभबाट अंश पाएपछि श्वेताको सम्पत्ति र्एश्वर्याको भन्दा १०४ प्रतिशतले बढी हुनेछ ।
यो जानकार समाचार एजेन्सीहरूले गरेको प्रक्षेपण हो । सम्पत्तिको बाँडफाँड ठीक यसरी नै हुनेछ भन्ने विषयमा बच्चन परिवारले अझै मुख खोलेका छैनन् ।