निरन्तर घट्दै नेप्से परिसूचक

काठमाडाैं, १८ मंसिर । गत साताको सोमबारदेखि नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ ।

साेमबार दिन नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.२२ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन २९२ स्टकको ४३ हजार ४२८ पटकको कारोबारमा १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन एनएमबि बैंकको ऋणपत्र र तेह्रथुम पावरको शेयरको मूल्य करिब ६ प्रतिशत बढेको छ।

यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जिको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।