‘मिसेस हिमालयन नेपाल २०२३’को ताज अनुषा लाई
काठमाडौं, २० मंसिर । ‘मिसेस हिमालयन नेपाल २०२३’को ताज ओखलढुंगाकी अनुषा कार्कीले पहिरिन सफल भएकी छिन् ।
हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा आइतबार राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा अनुषा दशौं संस्करणको विजेता बन्न सफल भएकी हुन् ।
नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा अनवरत सन्चालित कार्यक्रममध्ये एक मिसेस हिमालयन नेपाल विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता हो । कार्यक्रमको फस्ट रनर अपमा अनिषा घजु र सेकेन्ड रनर अपमा राज्यलक्ष्मी कर्माचार्यले आफ्नो स्थान सुरक्षित राख्न सफल भए ।
सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सञ्चालित सो कार्यक्रममा एक दर्जन प्रतियोगीहरूले दुई सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, बौद्धिक विकासलगायतका विविध विषयमा तालिम लिइ पारगतरुपमा आफूलाई स्टेजमा उतारेका थिए ।
परिचय चरण, प्रश्नोत्तर चरण, लिखित चरण र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीहरूले आफूलाई प्रमाणित गर्ने कोसिस गरेका थिए । अभिनेता तथा चलचित्रकर्मी सिमान्त उदास, अभिनेत्री मोडल शुष्मा अधिकारी, मोडल तथा मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ निर्णायक मण्डलमा रहेको सो कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विविध सवटाइटलहरू समेत वितरण गरिएको थियो । जसमा अनुषा कार्की मोस्ट एट्राक्टीभ, अनिषा घजु मोस्ट एक्टीभ, राज्यलक्ष्मी कर्माचार्य मोस्ट डाइनामिक, मोस्ट करिज्म्याटीक पन्चु लिम्बु, मोस्ट स्मार्ट रोज खड्गी, मोस्ट सिन्सियर मन्जीला राई, मोस्ट अनेष्ट शुष्मा रसाईली, मोस्ट इनर्जेटिक जयन्ति डंगोल, मोस्ट डिलिजेन्ट शुमित्रा तामाङ, वेष्ट फोटोजेनीक सुनु थापा, मोस्ट डिलाइटफुल कृष्णा श्रेष्ठ, मोस्ट पपुलर पन्चु लिम्बु, पब्लिक च्वाईस भिडियो अवार्ड मन्जीला राईले हात पार्न सफल भएका थिए ।
विवाहित महिलाहरूको क्षमता, प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ ।