लमजुङमा क्रिसमसकाे भोज खाँदा १ जनाको मृत्यु, १८ बिरामी
कास्की, २४ मंसिर । लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी भएका छन् ।
सामूहिक भोज खाएकामध्ये लमजुङकाे सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा खुवाएका सामूहिक भोजमा ३५ जना सहभागी भएका थिए । ३५ जना सहभागी मध्ये १८ जना बिरामी परेका थिए । उनीहरूलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाई छ ।
भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् ।