संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने : सभामुख घिमिरे

काठमाडौँ, २५ मंसिर । सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउन सबैकाे भुमिका अपरिहार्य रहेकाे बताउनुभएकाे छ ।

सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउन सबैकाे भुमिका अपरिहार्य रहेकाे बताउनुभएकाे हाे ।

उहाँले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउन सबैको भुमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘एउटा कुरा निश्चयपनि सर्वोच्च विधायकी संस्था हो संसद । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । त्यो बनाउनको लागि के गर्नुपर्छ ? यो बहस अन्तरक्रियाको शुरुवात हो । यसको निष्कर्षमा पुर्याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ’ ।

सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेकाे बताउनुभयाे ।