अर्नब चक्रवातको प्रभाव : उपल्लो मुस्ताङमा भारी हिमपात, कोरला नाका ठप्प

मुस्ताङ, १४ कात्तिकः अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाका बन्द भएको छ भने पहिरोका कारण जोमसोम–कोरला सडकखण्डसमेत अवरुद्ध भएको छ।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिनुभयो। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा भने निरन्तर वर्षा भइरहेको छ।

नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ। हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले बताउनुभयो।

उहाँका अनुसार न्हेचुङबाट कोरला नाका जाने तथा जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर र विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ। मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी गुरुङका अनुसार कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो। लगातारको हिमपातले उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन्। हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो।

यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिनुभयो।

भारी हिमपात र वर्षाका कारण जोखिम बढेकाले प्रशासनले मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *