निरन्तर वर्षाले भोजपुरका किसान चिन्तित, पाकेको धान खेतमै ढल्न थाल्यो
भोजपुर, १४ कात्तिकः धान भित्र्याउने मुख्य समयमा मौसम प्रतिकूल भई निरन्तर वर्षा हुन थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन्। खेतमा पाकेर पहेँलपुर भएको धान वर्षा र असिनाको जोखिममा परेपछि किसानलाई बाली सुरक्षित रूपमा भित्र्याउन समस्या भएको छ।
बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण खेतमा पाकेको धान ढल्न थालेको छ भने काटेर राखिएको धान भिज्ने र दाना झर्ने जोखिम बढेको छ। जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा किसान धान काट्ने र थन्क्याउने तयारीमा रहेका बेला वर्षाले उनीहरूको काम प्रभावित बनाएको हो।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेले निरन्तरको वर्षाले खेतमा पाकेको धान ढल्न थालेको बताउनुभयो। उहाँका अनुसार धान पाकेर काट्ने अवस्थामा पुगेका बेला पानी परेपछि उत्पादनमा थप क्षति हुने चिन्ता बढेको छ।
त्यस्तै, षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले धान भित्र्याउने समयमा वर्षा भएपछि काट्ने, सुकाउने र घरमा थन्क्याउने काम प्रभावित भएको बताउनुभयो। मौसम प्रतिकूल हुँदा खेतमा रहेको धान काट्नेदेखि काटिसकेको बाली सुरक्षित रूपमा घरसम्म पुर्याउनसमेत कठिनाइ भएको उहाँको भनाइ छ।
धान भोजपुरका ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बालीमध्ये एक हो। वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने लक्ष्यसहित महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्र्याउने समयमा मौसम प्रतिकूल हुँदा खेर जाने जोखिम बढेको छ।
धान काट्ने तयारीमा रहेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन्। समयमै घाम नलागे खेतमा रहेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भित्र्याउन कठिन हुने तथा उत्पादनमा क्षति पुग्ने उनीहरूको चिन्ता छ।
