बाढीपहिरोले तीन जिल्लाका विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति आवागमन बन्द
बुढीगण्डकीको बाढीले पुल बगायो, बिपी र कर्णाली राजमार्गमा यातायात ठप्प
काठमाडौँ, १४ कात्तिकः लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात सेवा प्रभावित भएको हो।
सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएको छ। पुल बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।
त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
