कञ्चनपुरमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि

कञ्चनपुर, २८ मंसिर । कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९/८० मा कञ्चनपुरमा दुई हजार पाँच सय २२ जना महिलाले यो सेवा लिएको बताउनुभयो ।

कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतन लगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका मेडिकल बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको वृद्धि भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरमा अनुसार चालु आर्थिक वर्षको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । “ मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको देखिन्छ ।” सूचना अधिकृत कार्कीले भन्नुभयो “कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थामा यो सेवा तोकिएको छ ।”

त्यसैगरी नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालय प्रमुख उद्धव भट्टले पनि पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताउनुभयो ।

उहाँले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको जनाउँदै आउनेमध्ये अधिकांश औषधिविधि रोज्ने गरेको जानकारी दिनुभयो । कञ्चनपुरमा सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ ।