चेपाङ बालबालिकाले पाए दिवा खाजा र न्यानो कपडा
चितवन, ९ पुस । चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ ।नगरपालिकाको निर्देशनमा विद्यालयले बालबालिकालाई डेढ महिनापछि खाजा दिन थालेको हाे ।
‘दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा’ शीर्षकमा राष्ट्रिय समाचार समितिले पुस ५ गते समाचार प्रकाशन गरेको थियाे ।
शिक्षक रामलाल चेपाङले बालबालिकाका लागि दिवा खाजा नियमित दिन थालिएको बताउनुभयो । “खाजा पाएपछि बालबालिका पनि खुसी भएका छन्, विद्यालय आउन छाडेकाहरु पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो । खाजा पाएपछि बालबालिकाले पढाइमा पनि रुचि राख्ने गरेको शिक्षक चेपाङले बताउनुभयो । यस विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा एक जना शिक्षकको व्यवस्था छ । उहाँले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ ।
राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ३ मा पढ्ने उर्मिला चेपाङ खाजा खान पाएको भन्दै खुसी हुनुभयो । उहाँले भन्नुभयो, “खाजा पनि खान पायौँ र नयाँ न्यानो कपडा पनि लगाउन पायौँ ।” समाचार पढेपछि बालबालिकाका लागि न्यानो कपडा सिन्धुपाल्चोकका युवाले उपलब्ध गराएका हुन् । सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका युवा सुनील श्रेष्ठ, सुशील श्रेष्ठ, अनिल श्रेष्ठ, समुन्द्र श्रेष्ठ र रोचन श्रेष्ठले आइतबार ३५ जना बालबालिकाका लागि न्यानो कपडा सुइटर र चप्पल वितरण गर्नुभयो ।
चेपाङ जातिको शैक्षिक विकासमा योगदान दिँदै आएका केपीकिरण शर्माले चेपाङ बालबालिका अध्ययनरत धेरै विद्यालयको अवस्था नाजुक रहेको भन्दै राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले चेपाङ बालबालिकालाई गाँस, बास र कपाससहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।