‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक

काठमाडौं, १३ पुस । चलचित्र ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । यही पुष २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएकाे हाे ।

ट्रेलर नव-अभिनेता किरण श्रेष्ठ र नव-अभिनेत्री रक्षा बुढाथोकीबीचको प्रेममा आउने उतार-चढावमा केन्द्रित छ । ट्रेलरमा अभिनेता शिव श्रेष्ठ रिसाहा पिताको रूपमा हुनुहुन्छ भने विल्सन विक्रम राई कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

चलचित्रमा दीपक श्रेष्ठकाे निर्देशन, राजाराम बुढाथोकीको निर्माण र कोमल गुरुङको सहनिर्माण रहेको छ । चलचित्रमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, संकल्प भुजेलको छायांकन, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, भुपेन्द्र अधिकारीको सम्पादन, निशा रसाइली र रामजी लामिछानेको कोरियोग्राफी छ ।

दुई दशकअघिको सफल चलचित्र ‘बादलपारी’को चर्चित गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रि-एरेञ्ज गरेर यो चलचित्रमा समावेश गरिएको छ ।