८० कलाकारले कोरेका १ सय चित्र प्रदर्शनी अवलोकनमा उपमेयर सुनिता

काठमाडौं, ५ माघ । प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका गहिरा कथाहरुलाई एउटै पानामा विस्तृत रुपमा उतार्न सक्ने नेपाली चित्रकारिताको विशेषतालाई प्रबर्धन गर्न काम गरिरहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । बिहीबारबाट राजधानीमा सुरु भएको काठमाडौँ आर्ट बिनाले (चित्र प्रदर्शनी) को अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘नेपाल भौगोलिक विविधतासँगै सांस्कृतिक विविधताले भरिएको देश हो, यहाँका हरेक संस्कृति र समाजका रोचक कथा छन् । तीमध्ये अधिकांश ठाउँका समाज र संस्कृतिलाई एउटै ठाउँमा हेर्न सकिने भएको छ,’ डंगोलले भन्नुभयो, ‘प्रकृति, संस्कृति, मानवीय प्रेम (प्रेमका व्यक्त, अव्यक्त अनुभूति), आत्मा, धार्मिक तथा आध्यात्मिक पक्ष, आत्मा, परमात्मा, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका अनेक कथाले भरिएको काठमाडौँका केही महत्वपूर्ण कथाहरु प्रदर्शनीमा समेटिएका छन् । यसले नेपाली भाषामा ज्ञान नभएकाहरुका विचमा हाम्रो चिनारीलाई अमीट बनाउँछ ।’

प्रदर्शनीमा ८० जना कलाकारले कोरेका १ सय वटा सिर्जना छन् । मूर्त, अमूर्त चित्रकारिता, धातु कलालगायत विभिन्न विधाका सिर्जना प्रदर्शनीका विशेषता हुन् । माघ ४ गते सुरु भएको प्रदर्शनी २०८१ बैशाख ६ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *