श्री माधवनारायण एक महिने स्वस्थानी मेलाकाे तयारी पुरा, जथाभावी फाेटाे तथा भिडियाे खिच्न मनाहीँ

काठमाडाैं, ९ माघ । काठमाडौँको साँंखुमा प्रत्येक वर्ष माघ महिनामा लाग्ने एक महिने श्री माधवनारायण तथा स्वस्थानी ब्रतकथा, शालिनदी मेलाको तयारी पूरा भएको छ।

श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिका अनुसार प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलाको तयारी पूरा भएको हाे ।

समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले मंगलबार श्री माधवनारायण तथा स्वस्थानी ब्रतकथा, शालिनदी मेलाको तयारी पूरा भएको बताउनुभयाे । यो वर्षको मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष श्रेष्ठकाे भनाइ । यो वर्ष पनि देशका विभिन्न भागहरूबाट एक महिनाको अवधिमा २० देखि २५ लाख व्रतालु मेला भर्न आउने अनुमान गरेकाे उहाँले बताउनुभयाे । यो वर्षकाे शालिनदी मेला माघ ११ गते बिहीबारदेखि मेला लाग्दैछ।

भक्तजनहरूको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.ली बाबागोकर्णेश्वर प्रा.ली. द्वारा सञ्चालित बसहरू जस्तोसुकै अवस्थामा समेत सेवा दिन तयार रहेको उहाँले बताउनुभयाे ।

व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरूको सेवाको लागि सबैभन्दा पहिले लगत सङ्कलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिएको र हालसम्म एक सय ९८ जनाले व्रतका लागि नाम दर्ता गराउनुभएकाे उहाँले बताउनुभयाे ।

शंखरापुर नगरपालिकाका मेयर रमेशनाथ नापितले मेलालाई सभ्य र भव्य रुपमा सुसम्पन्न गर्न मूल समिति र विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी गराउनुभयाे । यातायात, सुरक्षा, ट्राफिक, फोहोरमैला लगायतका विभिन्न उपसमितिहरू गठन गरी काम गर्ने उहाँले जनाए।

शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ। साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ।

इलाका प्रहरी कार्यालय साँखुका प्रमुख सीता परियारले सुरक्षाको सम्पूर्ण प्रवन्ध मजबुत हुने बताउनुभयाे ।मेलामा हुनसक्ने सम्भावित झैझगडा, लुटपाट, चोरी, पकेटमार नियन्त्रणलगायतका लागि सम्पूर्ण सुरक्षा दस्ता तयारी अवस्थामा रहेको उहाँले बताउनुभयाे ।

उहाँले मेलामा प्रहरी हेल्प डेस्क स्थापना गरी एक सय भन्दा बढी प्रहरी खटिने जानकारी दिनुभयाे । उहाँले सादा पोसाकमा पनि प्रहरी परिचालित गर्नुका साथै व्रतको क्रममा स्नान गर्ने महिलाहरूको फोटो, भिडियो खिच्न मनाही गरिने पनि उहाँले बताउनुभयाे ।

नेपाल सम्वत् को आठौँ शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *