सात प्रदेशकै मतदान सकियोः भोट नहाल्नेको सूचिसहित
काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा भैरहेको मतदान सकिएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १ सय ९६ जना मतदाता रहेका थिए । प्रदेशसभाका ४० तथा स्थानीय तहका १ सय ५६ मतदाता थिए । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको मृत्यु भएको थियो । त्यसैगरी जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको भूकम्पका कारण मृत्यु भएको थियो । बाँकी सबैले मतदान गरेका छन् ।
कोशीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए । कोशीको निर्वाचनमा धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित हुनुभयो । झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी मतदानमा सहभागी भएनन् । मधेस प्रदेशमा एक जना मतदाता अनुपस्थित रहे । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरेका छन् ।
वाग्मतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन साहले मतदान गर्नुभएन । त्यसैगरी नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा परेकाले मतदानमा सहभागी भएनन् । काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा पनि विरामीका कारण मतदानमा सहभागी हुनुभएन ।
प्रदेश तह अन्तर्गत हाम्रो नेपाली पार्टीको २ सांसद पनि मतदानमा सहभागी भएनन् । शैलेन्द्रमान बज्राचार्य र सरिता खड्कीले मतदान प्रक्रिया बहिस्कार गर्नुभएको छ । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको भइसकेको छ ।
गण्डकीमा २२९ जनाले मतदान गरे । सहकारी ठगी काण्डमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।
त्यस्तै लुम्बिनीमा ३०५ जना मतदाता रहेकोमा स्थानीय तहको दुई मत खसेन । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको थियो । स्थानीय तहका २१८ मतमध्ये २१६ मत खस्यो । बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्यायले मतदान गरेनन् ।
सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् । धनगढीका मेयर गोपी हमालले पनि भोट नहालेको बुझिएको छ ।