कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत

खोटाङ, १७ माघ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय र दुई हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः रु दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो । मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो ।

पुरस्कृत तथा सम्मानित हुने किसानलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दिक्तेलस्थित हाटडाँडामा आयोजित सो प्रदर्शनी करिब पाँच सय जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभएको छ ।

किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ ।

जिल्लाका सबै स्थानीय स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरेपनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् । यद्यपि जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि पेसा अपनाउने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ ।