गणपूरक सङ्ख्या नपुगेपछि संसद बैठक स्थगित, विधेयक पेस हुन सकेन

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको छ ।

उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेस गर्नुभएको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या यकिन गर्न माग गर्नुभएको थियो ।

तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या यकिन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्ने कार्यसूची हटेको हो ।

सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएको जानकारी सभामुख घिमिरेले बैठकलाई गराउनुभयो । नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेसा गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

सांसद सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा दृष्टिकोण राख्ने सबै राष्ट्रिय पार्टी हुनुपर्नेमा समानुपातिकतर्फ तीन प्रतिशत सीमा कटाउन नसक्ने राष्ट्रिय दल नहुने व्यवस्था हटाइनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा नीति र सिद्धान्तका आधारमा प्रतिस्पर्धा हुनुपर्ने भएकाले गठबन्धन हुन नहुने माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *